काठमाडौं । भीमदत्त-२, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना भइसक्दा पनि प्रहरीले विश्वसनीय ढंगले अनुसन्धान अगाडि नबढाएको भन्दै स्थानीयवासी आक्रोशित छन् । हत्यारालाई कारवाहीको माग गर्ने क्रममा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका १७ वर्षीय किशोर सनी खुनाको प्रहरीको गोलीबाट अनाहकमा ज्यान गएको छ ।
निर्मलाको हत्यारा पत्ता लाग्न नसकिरहेका बेला यस्ता आपराधिक घट्ना दिनहुँ जसो सार्वजनिक भइरहेका छन् । पोखराको विन्दवासिनी माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीयापुष्पा केसी मृत फेला परेको भोलिपल्ट काठमाडौंमा एक नेवारी खाजा घरमा कार्यरत १४ वर्षीया बालिका बलात्कृत भइन् । त्यही दिन, रंगेली-२ मोरङमा ७० वर्षीया वृद्धालाई बलात्कार गर्न लागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर, कास्की र मोरङको घटनाका पीडितको उमेर हेरेर भन्न सकिन्छ, कुनै पनि उमेरका महिला सुरक्षित छैनन् । अनलाइनखबरले पछिल्लो पाँच वर्षमा बलात्कारका घटनामा परेका पीडितहरूको अवस्थालाई सूक्ष्म ढंगले केलाउने प्रयत्न गरेको छ । १० भदौ ०७० देखि ९ भदौ ०७५ सम्मका १००० वटा घट्ना नियाल्दा समाज साँच्चै विद्रुप बन्दै गएको देखिन्छ । समान्यतयाः विश्वासै गर्न नसक्ने घटनाहरु फेला परेका छन् ।
आफन्त, विरामी, अपाङ्गता भएका, गर्भवती, दूधे शिशुदेखि हजुरआमासम्म यो अपराधको शिकार भएका छन् । नेपाल प्रहरीले संकलन गरेको तथ्यमा आधारित अध्ययनमा समेटिएका एक हजार घटनाका १०३४ पीडितमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि सबैभन्दा बढी ११-१५ वर्ष बीचका छन् । त्यो उमेर समूहका पीडित २६७ जना छन् ।
दोस्रो बढी पीडितको उमेर समूह हो, ६-१० वर्ष । उनीहरूको संख्या २३८ छ । वार्षिक तथ्यांक हेर्दा ०७० र ०७३ सालमा यो उमेर समूह सबैभन्दा बढी पीडित बनेका थिए । (हे. ग्राफिक्स) पाँच वर्ष नपुग्दै यस्तो घीनलाग्दो अपराधको शिकार भएका अवोधहरूको संख्या ११५ छ ।
पाँच महिनादेखि ९२ वर्षका पीडित
१६-२० वर्षका पीडितहरू १५० जना छन् । उमेरको ग्राफ बढ्दै जाँदा पीडितको संख्या कम हुँदै गएको देखिन्छ । (हे. ग्राफिक्स) तर समग्र घटनाहरू हेर्दा यसबीचमा एउटा सम्य नागरिकले कल्पनासमेत गर्न नसक्ने खालका अमानवीय घटना भएका छन् ।
१० भदौ ०७३ मा दाङको गढवा इलाका प्रहरी कार्यालयले ५४ वर्षीय शिवकुमार कहारलाई पक्राउ गर्यो । भारत, उत्तर प्रदेशको बलरामपुर, बगौलीका कहारमाथि बेला-२, कटबेरुवा बस्ने पाँच महिनाको एक शिशुलाई बलात्कार प्रयास गरेको आरोप छ । कवाड मालसामानका व्यापारी उनलाई एक परिचितकै शिशु छोरीलाई यस्तो अपराध गरेको प्रहरीको भनाई छ । एक वर्ष, १३ महिना, १७ महिना, २३ महिनाका दूधे शिशुमाथि यौनदुर्व्यवहार भएको घटनामा विभिन्न जिल्लाबाट एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका-१, कुन्तिपखलका २८ वर्षीय कृष्ण तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गर्यो । २८ फागुन ०७४ मा पक्राउ परेका तामाङमाथि ९२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ । यसअघि ०७३ मा साल्मे-९, नुवाकोटमा, ७८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै बैजापुर-९ बाँकेमा ७२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय अर्जुन पुन पक्राउ परे ।
कतिपय पीडकहरूको उमेर पनि विश्वासै नलाग्ने खालका छन् । जस्तो- बलात्कार आरोपमा पक्राउ परेका शान्तिनगर-९, झापाका योगनाथ खतिवडा । ७७ वर्षीय खतिवडाले कृष्ण प्रणामी मन्दिर परिसरमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी अभिलेख छ ।
बलात्कारपीडितको सूचिमा पुरुष र तेस्रो लिंगी पनि
बलात्कारीले पुरुष र तेस्रो लिंगीलाई पनि छाडेको छैन । गएको २७ असारमा पक्राउ परेका कपिलवस्तुको कृष्णनगर-९, अमौलीका समीम मुसलवानमाथि १३ वर्षीय बालकलाई जबरजस्ती करणी गरेको आरोप छ । मुसलवानले बाख्रा चराउन गएको बेला पीडित बालकलाई गुदद्वार मैथुन गरेका थिए । कपिलवस्तुकै शिवराज-१२, महुलीका २६ वर्षीय ताहुर हुसेन मियाँले ६ वर्षीय बालकलाई बलात्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन् ।
यस्तै, ५ माघ ०७४ मा चन्द्रागिरी-१३, नैकापका ३५ वर्षीय रमेश केसी ८ वर्षीय बालक र बनेपा-२, देवीटारका फुर्वा लामा ३ वर्षीय बालकलाई मलद्वारमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।
पुरुषमाथि पुरुषले सामुहिक बलात्कार गरेको उजुरीसमेत प्रहरीमा दर्ता भएको छ । नाङलिवाङ-९, पर्वतका पुजन गिरी, सञ्जय गिरी, नारायण कसी, रोसन केसी र अर्जुन केसीलाई १५ वर्षीय किशोरलाई सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई आफ्ना दाजुले बाग्लुङ अंचल अस्पतालमा लगेर उपचार गराएका थिए ।
गत २५ बैशाखमा चन्द्रनिगाहपुर-२, रौतहटका ३६ वर्षीय राजु परियार र २५ वर्षीय भरत मानन्धरमाथि बलात्कारको आरोप छ । यो घटनाका पीडित मध्येका एक तेस्रो लिंगी भएको प्रहरीले जनाएको छ । आरोपीहरू काठमाडौं, चन्द्रागिरीबाट पक्राउ परेका हुन ।
महिलामाथि पनि बलात्कारको आरोप
सामान्तयाः जबरजस्ती करणीका घटनामा महिला नै पीडित हुँदै आएका छन् । तर, महिलाले बलात्कार गरेको छिटफुट घटना पनि नभएका भने होइनन् । साविक श्रीगाउँ-६, दाङकी १६ वर्षीया एक युवतीमाथि ६ वर्षीय बालकलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कृत बालकलाई राप्ती उपक्षेत्रीय अस्पताल हिंसा संकट केन्द्रमा उपचार गरिएको थियो । आरोपीले कोठामा लगेर बलात्कार गरेका बालक बिरामी भएर अस्पताल लगेपछि घटनाको रहस्य बाहिर आएको थियो ।
निश्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म कानुन जति कडा बनाए पनि यसको अर्थ छैन । कञ्चनपुरको घटनामा जस्तो प्रहरीको भूमिका नै सन्देहमा पर्यो भने पीडितले न्याय माग्न कहाँ जाने ?
बसामडी-५, मकवानपुर स्थायी घर भएकी ५८ वर्षीय एक महिलालाई प्रहरी वृत्त थानकोटले पक्राउ गर्यो । थानकोट-७ मा डेरा गरी बस्ने उनलाई झारफुकको बहानामा २४ वर्षीयायुवतीलाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले एउटा मुद्दामा महिलाले नै महिलालाई बलात्कार गरेको ठहर समेत गरिसकेको छ । मत्स्यपोखरी, संखुवासभाकी लाक्पा शेर्पाले महिला भएपनि महिलालाई बलात्कार गरेको भन्दै सर्वोच्च अदालतले सजाय सुनाईसकेको छ ।
प्रतिवादको प्रतिफल
कानूनले व्यक्तिलाई असल नियतले निजी रक्षा प्रयोगको अधिकार दिएको छ । प्रतिकार गर्नसक्ने केही महिला, बलात्कारीको चंगुलबाट बच्न सफल पनि भएका छन् ।
गत ९ बैशाखमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ मा एक ६४ वर्षीय पुरुषको शव फेला पर्यो । बिहान साढे ४ बजे जबरजस्ती करणी गर्न खोजेपछि आफूले प्रतिकार गर्दा मृत्यु भएको एक महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । ३७ वर्षीया महिलाले प्रतिकारको क्रममा अण्डकोषमा लागेर मृत्यु भएको बयान दिएकी हुन् ।
जनकपुरस्थित जानकी मेडिकेयर अस्पतालमा ०७१ फागुनमा संवेदनशील अंग दुई टुक्रा भएको २२ वर्षीय युवकलाई भर्ना गरियो । उनको अंग धारिलो हतियारले काटिएको थियो । जनकपुर उपमहानगरपालिका-१७ की २८ वर्षीया महिलाले आफूलाई जरबजस्ती करणी गर्न खोजेपछि युवकको अंग काटेको स्वीकार गरेकी थिइन् ।
धनुषाकै एकराही-४ का २२ वर्षीय युवकको संवेदनशील अंग ३२ वर्षीया महिलाले चुलेसीले काटी दिइएकी थिइन् । सिराहाको भवानीपुर-६ की ३२ वर्षीय महिलाले आफूलाई बलात्कार गर्न लागेको भन्दै २३ वर्षीय युवाको संवेदनशील अंग छिनाइदिएकी थिइन् । सप्तरी, जोगनियाका ५० वर्षीय पुरुषको संवेदनशील अंग ३६ वर्षीया महिलाले ब्लेडले काटिदिएकी थिइन् ।
यी घटनाहरूमा २८ देखि ३६ वर्षका महिला प्रतिकार गर्न सफल भएको देखिन्छ । यो उमेर समूहका पीडितको संख्या अन्यको तुलनामा कम छ । यो उमेरका अधिकांश पीडितहरू शारीरिक वा मानसिक अपाङ्गता भएका बढी छन् ।
अब के गर्ने ?
मुलुकी अपराध (संहिता) ऐनमा जबरजस्ती करणी गरी ज्यान मारेको अपराधमा जन्मकैदको व्यवस्था छ । यो अपराधमा उमेर समूहअनुसार फरक-फरक सजायको प्रावधान छ । दिनहुँ बलात्कारका घटना बढेपछि पहिलाको भन्दा कडा सजायको व्यवस्था गरिएको सम्वद्धहरू बताउँछन् ।
निश्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म कानुन जति कडा बनाए पनि यसको अर्थ छैन । कञ्चनपुरको घटनामा जस्तो प्रहरीको भूमिका नै सन्देहमा पर्यो भने पीडितले न्याय माग्न कहाँ जाने ? नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी अनुसन्धान गर्ने प्रहरीदेखि न्याय दिने निकायसम्म चुस्तदुरुस्त भए मात्रै पीडकले सजाय पाउने बताउँछन् । उनी भन्छन्, ‘समाज र प्रहरीबीचको दुरी बढ्नु भनेको वास्तविक अपराधीलाई हाइसन्चो हुनु हो ।’
बलात्कार जस्तो अपराधमा दोषीलाई सजाय दिएर मात्रै पुग्दैन । पीडितलाई समाजमा पुनस्थापना पनि उत्तिकै महत्वपूर्ण विषय हो । एक-पटक यस्तो घटनामा परेका पीडितपछिसम्म मानसिक तनावमा रहनसक्छ भन्ने राज्य र समाजले बिर्सनु हुँदैन ।
‘रेज अगेन्स्ट रेप’ अभियानकी हिमा विस्ट न्याय पाउनका कति गाह्रो छ भन्ने निर्मला पन्तको घटनाले प्रष्ट पारेको बताउँछिन् । बालबालिकालाई ९-१० वर्षदेखि घरबाट र ८-९ कक्षादेखि विद्यालयमा यौन शिक्षा दिनुपर्ने उनको सुझाव छ । आफन्त र चिनेजानेकै व्यक्तिहरुबाट यस्तो अपराध हुनुलाई उनी डर लाग्दो संकेतको रुपमा लिनुपर्ने बताउँछिन् । ‘अपरिचितसँग त नबोल है भनेर सिकाइरहेका हुन्छौं,’ विष्ट भन्छिन्, ‘तर परिचितबाट पनि खतरा छ है भनेर कसले सिकाउने ?’